अलर्ट भीमेश्वर: नगरपालिका भित्र पहिरो पुर्वसुचना प्रणाली स्थापना हुँदै

News & Press Release

Apr 23,2024

अलर्ट भीमेश्वर: नगरपालिका भित्र पहिरो पुर्वसुचना प्रणाली स्थापना हुँदै 

माघ १२ गते, भीमेश्वर । भीमेश्वर नगरपालिकामा मंगलबार आयोजित शुभारम्भ बैठक कार्यक्रममा युएसएआइडी तयार नेपालको सहयोगमा इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आइ.एच.आर.आर) ले नगरपालिका भित्र पहिरो पुर्वसुचना प्रणाली स्थापना गर्ने जनाएको छ । 

सो पुर्वसूचना प्रणाली बर्षाजन्य पहिरोको लागि निर्माण हुने जनाइएको छ । आइ.एच.आर.आरका कार्यकारी निर्देशक ई. सुरज गौतमका अनुसार अध्ययन टोलीले बृहत् अध्ययन गर्दै आगामी मनसुनमा सो प्रणालीको परिक्षण गर्ने हिसाबले तीब्र रुपमा सो प्रणाली स्थापना गर्नेछ र अबको एकबर्षसम्म पालिकासँग सहकार्य गर्दै प्रणाली बिकास गर्नेछ । सो शुभारम्भ बैठकमा तयार नेपालका तर्फबाट बिनोद कुमार बराई, थिर थापा मगर र आइ.एच.आर.आरका तर्फबाट डा. भीम कुमार दाहाल, ई. सुरज गौतमको, नारायण गोपाल घिमिरे, स्वस्तिका गोरजु लगायतको उपस्थिति रहेको थियो । 

भीमेश्वर नगरपालिका भित्र पहिरो सम्भाव्यता नक्शांकन अद्यावधिक गर्ने तथा उपयुक्त जलाधार चयन गर्ने तयारी रहेको जानकारी ई. सुरज गौतमले जनाएका छन् । त्यस्तै, चयन गरिएको सब-बेसिन (उप-जलाधार) भित्र दुईवटा बर्षा मापन केन्द्र र जमिनभित्र सेन्सर जडान हुने भएको छ । सो उपकरणबाट प्राप्त भएको तथ्यांक विश्लेषण गर्दै पहिरोको पुर्वानुमान गरिने र पुर्वसुचना सम्प्रेषण गर्न मद्दत पुग्ने बताइएको छ । 

पहिरो अध्ययन बाढी अध्ययन भन्दा निकै नै जटिल रहेको हुँदा पहिरो पुर्वानुमानमा नेपाल प्रारम्भिक चरणमा रहेको र यस कामले पहिरो पुर्वसुचना प्रणाली स्थापना गर्नका लागि ठुलो टेवा मिल्ने जानकारी ई. भीम कुमार दाहालले जनाएका छन् । जल तथा मौसम बिज्ञान बिभागबाट सम्प्रेषण हुने ३ दिने मौसम पुर्वानुमानलाई समेत एकीकृत गर्दै सो प्रणालीले बर्षा तथा बर्षाका कारण जमिनले सोसेको पानीको मात्रा मापन गर्दै नगरपालिका स्थित स्थानीय आपतकालीन सञ्चालन केन्द्रलाई जानकारी गराउने छ । 

भीमेश्वर नगरपालिका भौगोलिक हिसाबले पनि जोखिममा रहेको कुरा स्मरण गर्दै यस किसिमको प्रविधि र प्रणाली स्थापना अत्यावश्यक रहेको र पालिकाले यस विषयमा पहल गर्दै आएको कुरा नगरपालिकाका विपद् फोकल व्यक्ति ई. सुरेश रावतले जनाएका छन् ।

यस प्रणालीको परिक्षण तथा कार्यान्वयन भीमेश्वर नगरपालिकामा हुन गइरहेको सन्दर्भमा नगरपालिका निकै उत्साहित रहेको र समग्र नगरवासीलाई यस प्रणालीले सहयोग पुर्‍याउनेमा विश्वस्त रहेको नगर उप-प्रमुख कमला बस्नेतले बताउनु भएको थियो । त्यस्तै, उक्त प्रणालीको स्थापना आगामी मनसून अगावै समापन भई नगरवासीले यसबाट लाभ लिने बिश्वास राख्दै नगर प्रमुख इश्वर नारायण मानन्धरले शुभकामना व्यक्त गर्नु भएको थियो साथै सहयोगका लागि युएसएआइडी तयार नेपाललाई धन्यवाद दिनुभएको थियो ।

सो कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, विपद् फोकल व्यक्ति, स्थानिय विपद् व्यवस्थापन समिति सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

Recent Post

Similar post that you may be intrested in